Logo

सामाजिक मुद्दामा किन बोल्नु पर्छ सेलिब्रेटी


कलाखबर संवाददाता ,कार्तिक ३- विद्यालय जाँदै गरेकी १४ वर्षीया मुस्कान खातुन २० भदौमा वीरगञ्जमा एसिड आक्रमणमा परिन् । आक्रमणमा परेलगत्तै वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएकी उनलाई त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइयो ।

मुस्कानको बाहिरी चोट निको बनाउन अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मी प्रयासरत छन् । अर्काेतर्फ उनको मानसिक चोट–पीडामा मल्हम पट्टी लगाउने काम ‘सेलिबे्रटी’हरुले गरिरहेका छन् ।
मनोरञ्जनका विभिन्न क्षेत्र र विधामा काम गरिरहेका भारतीय र नेपाली दुवै सेलिब्रेटी त्यो पंक्तिमा छन् ।

अलि अनौठो चाहिँ के छ भने समाजका कैयौं सदस्यले ‘रोलमोडल’ मान्ने सेलिब्रेटीहरू स्वस्फूर्त रुपमा खातुनलाई भेट्न पुगेनन् । जस्तो कि, त्यसका लागि व्यवसायी एवं अभियन्ता उज्ज्वलविक्रम थापाले पहल गरे । खबर गरेर सेलिब्रेटीहरूलाई बोलाए । मुस्कानको आत्मबल र हौसला बढाउन प्रयत्न गरिरहेका उज्वलले नै उनीहरूलाई अस्पतालसम्म ल्याए ।

सम्भवतः अस्पताल पुगेका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा तस्वीर राखेपछि नै हुनुपर्छ, भेट्न नपुगेका नेपाली सेलिब्रेटीहरुले सामाजिक सञ्जालबाट भिडियो पठाएर मुस्कानलाई भरोसा दिन थाले ।

तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने बलिउडका (भारतीय) कलाकारहरूले मुस्कानलाई भिडियो सन्देश पठाएपछि मात्र नेपाली सेलिब्रेटीहरु लर्काे लागेर अस्पताल भेट्न पुगेको आरोप लगाएका छन् ।

 

यो आरोप पुरै गलत पनि थिएन । किनभने सबभन्दा पहिले बलिउड कलाकार वरुण धवन र कृति सोननले मुस्कानलाई भिडिओ सन्देशमार्फत् हौसला बढाएका समाचार सार्वजनिक भए । कतिपय सेलिब्रेटी त्यसपछि नै मुस्कानलाई भेट्न पुगे ।

वरुण र कृतिसँग मुस्कानको भिडिओ कुराकानी गराउने माध्यम उज्ज्वल नै थिए ।

उज्ज्वल भने मुस्कानमाथि एसिड आक्रमणको खबर सुनेपछि उनीभन्दा पनि पहिले अभिनेत्री सञ्चिता लुँइटेल र मिस नेपाल इन्टरनेशनल–२०१७ को उपाधि जितेकी नीति शाह अस्पताल पुगिसकेको बताउँछन् ।
“उनीहरुलाई कसैले बोलाएको थिएन, घटनाको खबर सुनेपछि आफैं अस्पताल पुगेका थिए, सबै कलाकार बलिउडको पछि लागेका हुन् भन्न नमिल्ला” उनले भने, “तर मनोरञ्जन क्षेत्रका धेरै कलाकार पीडितको लागि खुलेर बोलेका भने छैनन् । सेलिब्रेटीले पीडितलाई भेट्दा तनको घाउ कम गर्न नसके पनि मनको पीडा कम गर्न सहयोग पुग्छ ।”

ढिलै किन नहोस्, गायक राजु लामाले अस्पतालमा भेटेर मुस्कानका लागि ‘तिमीलाई देखेर…’ गीत गाए । उनले आफ्नो फेसबूक पेजमार्फत् भिडिओसहित मुस्कानको हौसला बढाउने काम पनि गरे ।

मिस नेपाल वल्र्ड–२०१७ शृङ्खला खतिवडा, अभिनेता राजेश हमाल, नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालगायत मुस्कानलाई भेट्न अस्पताल पुगेका समाचार पनि सामाजिक सञ्जालमा छाएका छन् ।

केही महीनाअघि एसिड आक्रमणमा परेकी जेनी खड्कालाई भेट्न अस्पतालमै पुगेकी गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ५० हजार रूपैयाँ सहयोगस्वरुप दिएको उज्ज्वल बताउँछन् ।

के हुन्छ भेटेर
एसिड आक्रमणजस्ता जघन्य अपराधका पीडितलाई सेलिब्रेटीले भेट्दैमा के हुन्छ र भन्नेहरू पनि नभएका होइनन् ।

उज्ज्वल भने यस्ता घटनाबारे सेलिब्रेटीले चासो देखाउँदा चिया पसलदेखि गाउँ–शहरसम्म चर्चा चल्ने विश्वास गर्छन् ।

“चर्चित कलाकार लगायतका सेलिब्रेटीको साथ र सहयोग पाउँदा पीडितको आत्मविश्वास बढ्दो रहेछ”, उनले देखेको सत्य हो यो ।

आर्थिक सहयोग नै महत्वपूर्ण होइन, कलाकारको उपस्थिति मात्रैले पनि केही हदसम्म पीडितको घाउमा मल्हम लाग्ने उनको ठम्याइ छ ।

अहिले मुस्कानबारे चासो देखाएर अस्पतालमा भेट्न आउने सेलेब्रेटीहरूले एसिड आक्रमणबारे बोल्दा यस्ता विषय जनस्तरदेखि माथिल्लो निकायसम्म बहसको विषय बन्न थालेको उनको अनुभव छ ।

मुस्कानलाई भेटेका राजेश हमाल, पारस खड्का, श्रृङ्खला खतिवडा लगायतले एसिड आक्रमण गर्नेलाई कानूनमा प्रस्तावित सजायको व्यवस्था कम भएको आवाज उठाएका छन् । त्यसले जनस्तरमा सूचना प्रवाह गरेको र आमधारणा निर्माण गर्ने काम गरिरहेको उनको ठम्याइ छ ।

“पहिले एसिड हान्ने व्यक्तिको लागि सजाय कम भयो भनेर बोल्ने हामी मात्र थियौँ, आमरुपमा यो कुरा पु¥याउन निकै गाह्रो थियो, सेलिब्रिटीले नै बोलिदिँदा अहिले धेरैले यसको वकालत गरिरहेका छन्”, उज्ज्वल भन्छन् ।

सेलिब्रेटीले पीडितलाई नै भेट्नुपर्छ भन्ने पनि छैन । आ–आफ्नो पेशा र भूमिका अनुसार उनीहरुले जहाँ पनि यसबारे बोल्न सक्छन् । आफूले गर्ने ‘शो’देखि कन्सर्टलाई समेत त्यसको ‘प्लेटफर्म’ बनाउन सक्छन् । किनभने उनीहरुले त्यसरी बोल्दा समाजको ध्यान खिच्न सक्छन् ।

“कलाकारमा समाजमा कसैलाई गाह्रो पर्दा सहयोग र सहानुभूति दिनुपर्छ भन्ने आत्मचेत हुनैपर्छ”, चलचित्र समीक्षक प्रकाश सायमी भन्छन्, “आर्थिक सहयोग नै गर्नुपर्छ भन्ने छैन, उनीहरुको प्रेजेन्स मात्रले पनि ठूलो औषधिको काम गर्छ ।”

तर धेरै बोल्दैनन्
समाजमा छोरी चेलीमाथि एसिड आक्रमण जस्ता जघन्य अपराध हुँदा पछिल्लो समय सेलिब्रेटीले केही आवाज उठाउन थाले पनि धेरै सेलिब्रिटी यस्ता विषयमा हतपत बोल्न बोल्न तयार हुँदैनन् । उनीहरू सकेसम्म यी विषयबाट टाढै बस्न खोज्छन् ।

स–साना विषयबारे लेखेर सामाजिक सञ्जालमा भाइरल भइरहने कलाकार, गायकगायिका, साहित्यकार पनि यसखाले गम्भीर विषयमा बोलेको देखिँदैन ।

एसिड आक्रमण, बलात्कारदेखि उत्पीडनका अरू थुप्रै विषयमा मनोरञ्जन क्षेत्रका कलाकारदेखि साहित्यकारहरुले समेत नेतृत्व लिएर सहयोग गर्ने र त्यससम्बन्धी कानूनी व्यवस्थाबारे बहस गर्ने काम भएको छैन । परिणाम, यसबारे सरकारलाई सुझाव दिने, झक्झक्याउने काम हुन सकेको छैन ।

के यस्ता विषयमा बोल्नुपर्ने सामाजिक उत्तरदायित्व सेलिब्रे टीहरुको होइन ? चलचित्र समीक्षक प्रकाश सायमी नेपाली कलाकारहरूमा सामाजिक उत्तरदायित्वको भावना कम रहेको, कसैलाई दुःख पर्दा अगाडि आएर सहयोग गर्नुपर्छ, सकेको बोलिदिनु पर्छ भन्ने ज्ञानकै कमी रहेको बताउँछन् ।

“मूल्यांकन नै गर्ने हो भने ५ प्रतिशत कलाकारमा मात्र सामाजिक उत्तरदायित्वको भावना होला”, सायमी भन्छन्, “अन्य ९५ प्रतिशत कलाकारमा म त्यो भावना देख्दिनँ ।”

साहित्यकार माया ठकुरीको अनुभवमा बलात्कार, एसिड आक्रमण आदिबाट पीडित हुने महिला र बालिका धेरैजसो दूरदराजका हुन्छन् । उनीहरूलाई पीडित बनाउनेमाथि कारबाहीका लागि मात्र होइन,

एसिडले जलेका र बलात्कारको शिकार बनेका अनुहारलाई हेलाँ गर्न हुन्न भन्ने चेतना गाउँमा पु¥याउन समेत कलाकार र साहित्यकारहरुको अहं भूमिका हुने उनको ठम्याइ छ ।
“त्यसैले त कलाकार र साहित्यकारलाई सामाजिक योद्धा भनिन्छ, तर हामी उनीहरूमाझ पुग्नै सकेका छैनौं”, ठकुरी भन्छिन् ।

सामाजिक सञ्जालमा नलेख्दैमा यस्ता घटनाले छोएनन् भन्ने अर्थ भने लगाउन नहुने उनको मत छ । “तर, कलाकार र साहित्यकारले यी घटनाबारे लेख्दा–बोल्दा पीडितलाई राहत मिल्छ”, उनी भन्छिन्, “त्यसकारण पनि हामी पीडितसम्म पुग्नैपर्छ, बोल्नैपर्छ ।”

प्रतिक्रिया दिनुहोस्