Logo

कृषि बिकास बैङ्कबाट मोटो रमक चोर्ने राजधानीका विभिन्न स्थानबाट ११ जना प्रहरीद्वारा पक्राउ



काठमाडौं–कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् । अन्य दुई जनाको भने नाम खुलेको छैन ।

उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ । सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविकरुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो । कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो ।

७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको छ । सो रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए ।

लहान शाखाका म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्सफर भएको पाइएको छ । म्यानेजर आन्तरिक तालिमका लागि काठमाडौँमै रहेकोबेला उनको एकाउट प्रयोग गरिएको छ । त्यसकारण अन्य कुनै कर्मचारी वा बैङ्क म्यानेजरकै संलग्नता रहेको हुनसक्ने भन्दै उनलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ । रकम चोरी गर्दा बैङ्कमा भएको नाफामध्ये केही रकम ती खाताहरुमा ट्रान्सफर गरिएको छ ।

असार मसान्तसम्मको नाफाको हिसाबकिताब रुजु भइसकेकाले ती रकम नचलाइएको बताइएको छ । साउन र भदौ महिनाको नाफाबाट डेबिट ९बैङ्कबाट निकालिएको रकमं० गरेर उक्त रकम ट्रान्सफर गरिएको छ । अर्को अडिट नभएको अवस्थामा बैङ्कको नाफा चोरी गरिएको हो । कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतले दाबी गरेको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो ।

बैङ्क कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले बताएको छ । सफ्टवेयर वा सिस्टम ह्याक भएको नभई कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैङ्कले बताएको छ । कृषि विकास बैङ्कमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैङ्कले जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको हो । यसकारण ग्राहकले कुनै चिन्ता लिनु नपर्ने प्रहरी र बैङ्क स्रोतको दाबी गरेको छ ।
रातोपाटीबाट सााभार

प्रतिक्रिया दिनुहोस्