Logo

आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीका दिन गोकर्णेश्वर मन्दिरमा यसरी भव्य मेला भरियो ( भिडियो सहित)



कलाखबर संवाददाता,१३,भदौ–काठमाण्डौं । बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिरमा विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मणि माणिक्य जस्ता सामान दिएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । दिवङ्गत पिताप्रति यसै दिन गोकर्णेश्वरमा श्राद्ध अर्पण तथा दान गर्ने चलन पनि रहेको छ ।

आजकै दिनमा घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको छ ।

भदौ कृष्ण औँसीका दिन शुक्रबार पितृ कार्य र देव कार्यमा प्रयोग हुने कुश घर डेरामा भित्र्याइँदैछ । कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै कुशको पनि उत्पत्ति गरेको हुन् भन्ने धार्मिक मान्यता छ । बाबु नहुने चुडाकर्म गरेका टुहुराले श्राद्ध तथा तर्पण गर्ने छोरीचेलीले प्रसाद ग्रहण गरेर बाबुप्रति श्रद्धा प्रकट गर्ने गरिन्छ ।

पशुपति राजराजेश्वरीमा रहेको विराटेश्वरमा यो दिन पूजा अर्चना गर्ने चलन छ । बिहान ४ बजेबाट सुरु गरिएको मेला आज दिनभरी लाग्नेछ । गोकर्णेश्वरको मन्दिरदेखि सल्लाघारी सम्म भव्वरुपमा मेला लागि रहेको छ । हामीले प्रत्येक्ष प्रशारण गरेका दृश्य यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्