नुवाकोटको वडा कार्यलयमा बम बिष्फोट, महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट

१५ साउन, काठमाडौं । नुवाकोट वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएको जानकारी दिइन् ।बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ ।
चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् । अहिले सम्म कुनै पनि घटनाको जिम्मा घटना घटाउने पक्षले लिएको छैन ।