राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बस्दै

कलाखबर संवाददाता,२,साउन काठमाण्डौं । काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको आगामी साउन ५ र ६ गते उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । केन्द्रीय कार्यालय चाबहिलमा सो बैठक बस्ने स्रोतले जनाएको छ । उक्त बैठकमा अध्यक्ष पशुपतिशम्शेर जवरा र डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सो बैठकमा आर्थिक ,कार्यको प्रतिवेदन तथा नीतिबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उक्त बैठकमा देशभर भएका सङ्गठन समायोजन सम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा संघठनले गरेका गतिविधिबारे सचिवालयले पनि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रवादी र पशुपति समशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिक गत माघ १८ गते एकीकरण भई राप्रपा संयुक्त भएको उक्त पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गरेको छ।

तर पनि पार्टीभित्र केही नेताले परिवर्तित संरचनामा गणतन्त्रको पक्षमा समेत बहस शुरु गरेका छन् । बैठकले राप्रपा परिवेश तथा समान विचार भएका अन्य पार्टीसँग एकीकरण गरि आगामी महाधिवेशन गर्ने वा समयसीमा निर्धारण गर्ने भन्नेबारे पनि टुङ्गो लगाउनेछ ।