अविरल वर्षाका कारण सुनकोशीमा बाढी पहिरो गयो,सवारीसाधन सडकमै अवरुद्ध भएपछि हजारौ यात्रुको विचल्ली

राज कुमार राई,२७,असार–काठमाण्डौं । अविरल वर्षाका कारण सुनकोशीमा बाढी पहिरो गएपछि हजारौ यात्रु र सावारी साधन बिचबाटोमै अलपत्र परेकोछ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ स्थित भडारे खोलामा बाढी आए पछि पूर्वीय नेपालका सोलुखुम्बु, खोटाङ,हलेशी र राजधानी काठमाडौं बिचको यातायात सम्बन्ध विच्छेद भएको छ । हजारौं यात्रुहरु भोकभोकै बर्षाको पानी खाएर सडकमा अलपत्र भएको हाम्रो कलाखबर संवाददाता भोला नाथ पौडेलले जानकारी दिए ।

होटलमा यात्रहरुको चापले बस्ने ठाउँ समेत नपाएर डुबान सडकको पेटीमा हजारौ यात्रुहरुको विचल्ली भएको समेत उहाँले बताए । यात्रु सहितको गाडी खोलाले बगाएपछि एक स्थानीय ब्यापारीको निजी जेसिबीले गाडी तानेर यात्रुहरुको उद्धार गरिएको सेडेक नेपालका कार्यकारी प्रमुख राम नाथ पोखरेलले कलाखबरलाई बताए । साथै विहान ११ बजे सम्म स्थानीय जनप्रतिनिधिहरु यो घटनाको बिषयमा बेखबर नै रहेको उहाँले जानकारी दिए ।

विहिबार रातीदेखि निरन्तर रुपमा परेको अविरल बर्षाका कारण विद्युत समेत अवरुद्ध भएपछि त्यहाँका स्थानीय र यात्रुहरु अन्धकार र सम्र्पक विहिन भएका छन् । काठमाण्डौँबाट छुटेको सवारीसाधन उदयपुरको घुर्मी बजारमा रोकिएका छन् भने सोलुखुम्बु,खोटाङ,हलेशीबाट आएको सवारीसाधन मानेभन्ज्याङ गाउँपालिका ६ भडाँरे स्थित सडकमा रोखिएको प्रहरीले जनाएको छ । बाढीका कारण एउटा बस फसेपछि खोलामा ओखलढुंगाबाट प्रहरी प्रमुख पुष्पराज मल्लाको नेतृत्वमा टोली पुगेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

यता, बर्षाका कारण घरमुनिबाट पहिरो बग्दा सुनकोशी गाउँपालिका ९ कोषहाटका भिम बहादुर तामाङको एउटा टहरो बगाएको छ । पहिरोले घर समेत बगाउने अवस्थामा पुगेको भन्दै तामाङ परिवार त्रसित बनेका छन् । पीडित तामाङ अनुसार घर मुनिबाट खनिएको सडकमा पहिरो जादाँ घरलाई क्षेती गरेको हो । गाउँपालिका प्रमुख रुद्ध प्रसाद अघिकारीले कोषहाटबाट प्रहरी टोली पठाईएको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको बताए ।

शुकबार दिनभरी पनि निरन्तर बर्षा भएको कारण देशका विभिन्न भागमा मानवीय र भौतिक क्षती भएको अनुमान गरिको छ । कति ठाँउमा कति मानवीय क्षेती भयो भन्ने विस्तृत जानकारी नआएपनि सबै ठाँउमा उद्धाकर्मीहरु खटाइएको गृहमन्त्रालयले जनाएको छ । राजधानी काठमाण्डौं समेत डुबानमा परेको छ । अविरल वर्षाका कारण राजधानीको ट्राफिक ब्यावस्थापन गर्न लाई कठीन भएको थियो भने सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल समेत भत्किएको छ ।