निलकण्ठ नगरपालीका ११ धादिङमा बुटिक तालिम सञ्चालन,उत्साह जनक महिला सहभागीता

कलाखबर संवाददाता,२४,जेष्ठ–धादिङ । निलकण्ठ नगरपालिका धादिङ ११ नं वडामा बुटिक तालिम सञ्चालन भइ रहेको छ । घरेलु तथा साना उद्योग बिकास समिति धादिङ र निलकण्ठ नगरपालिकाको आर्थिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु तथा परिवर्तनका लागी महिला मञ्चको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रले चैत्र महिनाको २६ गतेबाट तालिम सञ्चलन गर्दै आएको छ भने परिवर्तनका लागी महिला समज मञ्चले औपचारिक रुपमा ब्यानर पढेर जेष्ठ २६ गते बिहिबार उदघाटन गरेको छ ।

परिवर्तनका लागि महिला मञ्चका कार्यकारी प्रमुख सरला धमलाले ब्यानर पढेर कार्यक्रमलाई उदघाटन गरेका थिए । जम्मा २० जना महिला सहभागीता रहेको तालिममा प्रशिक्षक स्वरस्वती थापाले प्रशिक्षण दिइ रहेका छन् । सहभागीहरुले पश्मिना र पच्छौरीमा धमाधम बुट्टा भरि रहेका छन् । वडा अध्यक्ष तिलक थापा मगरले यस्ता कार्यक्रम महिला उद्यमीहरुका लागि महत्वपूर्ण रहेको बताए । यो तालिमले महिलाहरुको जिवनस्तरमा परिवर्तन मात्र नल्याएर आफ्नो वडाको इज्जत समेत बढाउने विश्वास ब्यक्त गर्नु भयो । महिला उद्यमीहरुका लागिआफ्नो वडाको तर्फबाट आर्थिक भौतिक र प्राविधिक रुपमा जुनसुकै सहयोग गर्ने वडा अध्यक्ष मगरले बताए ।

तर यसका लागि समुह दर्ता गरेर प्रक्रियाबाट वडामा आउन समेत आग्रह गरे । साथै उहाँले उद्यम विकास सहजकर्ता सुनिता जैसीको कामको प्रशंसा समेत गरेका थिए । सुनिता जैसीले आर्कषक र विधिवत ढङ्गबाट कार्यक्रमलाई सञ्चलान गरेका थिए । वडाको सहयोग र सहजीकरणले बुटिक तालिम सहज रुपमा सञ्चालन भइ रहेको जानकारी गराउदै,तालिममा सहभागीहरुले राम्रोसँग सीप सिकिसकेको उहाले बताइन् । प्रशिक्षक स्वरस्वती थापाले सबै सहभागीहरु निकै उत्सुकता र मेहिनतका साथ सीप सिकिरहेको बताइन् ।

यो तालिम पश्चात उनीहरुले केही न केही ब्यवसाय गर्न सक्छन् भन्ने विश्वास रहेको प्रशिक्षक  थापाले  बताइन् । तालिममा सहभागी भगवती श्रेष्ठले यो भन्दा अगाडी पनि थुप्रै तालिम आएको तर कुनै पनि उपलब्धि मुलक नभएको बताउदै यो बुटिक तालिमबाट चाही केही आशा लिएको बताए । जुन आशा र अपेक्षा लिएर हामीले तालिम लिइ रहेका छौ त्यसलाई निराशामा परिवर्तन नहोस् श्रेष्ठले भनिन् । साथै उहाले फेरि पनि यस्ता अर्थपूर्ण तालिम ल्याउन विभिन्न सस्था र वडा तथा पालिकालाई आग्रह गरिन् ।

परिवर्तनका लागि महिला मञ्चका कार्यकारी प्रमुख सरला धमलाले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रम महिलाहरुका लागी निकै महत्वपूर्ण रहेको बताइन् । महिलाहरु सक्षम भयो भने घर परिवार मात्र नभएर सिङ्गो देशमा नै आमुल परिवर्तन आउने बताउदै सबै महिलाहरु जागुरुक भएर अगाडी बढ्न आग्रह गरिन् । साथै उहाले कसैको हल्ला र निराधार कुराको पछाडी नलागी निर्धक्कसँग तालिम लिन सुझाब दिदै विचलित नहुन समेत आग्रह गरिन् ।