विराटनगरमा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

विराटनगर, ६ फागुन, यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरोहण विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक मञ्चन हुने जानकारी दिइयो ।

 

महोत्सवमा नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का र अफगानिस्तानका १० नाटक दैनिक एक÷एक वटा मञ्चन हुने आरोहरण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । फागुन १५ गते आरोहण विराटनगरको ‘विराट पर्व’ १६ गते बङ्गलादेशको ‘मातब्रिङ’ १७ गते इटालीको ‘डिसएप्पीइर्ड’ १८ गते भारतको ‘चम्पावती’ १९ गते श्रीलङ्काको ‘लब एण्ड लाइफ’ नाटक मञ्चन हुने भएको छ ।

 

यसैगरी फागुन २० गते झोराहाट नाट्य समूह नेपालको ‘घरभित्रको अर्को घर’  २१ गते परिवर्तन थिएटर, काँकडभिट्टा नेपालको ‘विटुलो आख्यान’ २२ गते अफगानिस्तानको ‘ता राहाये’ २३ गते थिएटर उपयपुर नेपालको ‘देश बनाउँछु भन्नेहरु’ र २४ गते कदम थिएटर दमक नेपालको ‘गौडा टाइम्स’ नाटक मञ्चन गरिने भएको छ ।

 

महोत्सवमा विभिन्न सांस्कृतिक, पुस्तक र चित्र प्रदर्शन गरिनेछ । सहभागी विदेशी कलाकारलाई प्रदेश नं १ को पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरुको अवलोकनका साथै स्थानीय समुदाय तथा स्थानीय सरकारसँग समेत अन्तरक्रिया कार्यक्रम गराईने बताइएको छ ।