Logo

घाइतेलाई हेलिकप्टरमार्फत उद्धार


कलाखबर संवाददाता,२७,माघ–म्याग्दी । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार काली गम्भीर घाइते हुनुभएको छ । परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उहाँलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

परियारलाई रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा पोखरा लगिएको हो । घाइते चालकसहित ११ यात्रुको अवस्था खतरामुक्त रहेको र उनीहरुको बेनी अस्पतालमै उपचार भइरहेको छ । घाइतेलाई गलेश्वरमा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी युवा र स्थानीयवासीले तत्काल उद्धार गरी बेनी अस्पताल ल्याइएको थियो ।

गलेश्वरदेखि उकालो बाटोमा जाँदै गरेको जीप दुर्घटना हुनाको कारण खुल्न सकेको छैन । घाइतेको टाउको, छाति र हातखुट्टामा बढी चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्