Logo

नमूनाबस्ती बनाउँदै नलगाड नगरपालिका


जाजरकोट, ८ माघ, समृद्ध समाज निर्माणका लागि नलगाड नगरपालिकाले नमूनाबस्ती निर्माण गर्ने भएको छ । खानेपानी, विद्युत्, खोपयुक्त खाना, सरसफाइ, सञ्चार सेवालगायत सुविधा उपलब्ध गराउन  नमूनाबस्ती निर्माण अभियान ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

जिल्लाको दोस्रो सुविधा भएको स्थानीय तहमध्ये उक्त नगरपालिकाले १३ वटा नमूना गाउँ छनोट गरी पहिलो चरणमा विशेष अभियान सञ्चालन गर्न लागेको हो । अहिले वडास्तरमा छलफल गरी नमूना गाउँ छनोट गर्नाका साथै प्रत्येक वडामा सरसफाइ समिति गठन गरी विकासका कार्य अघि बढाइएको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयोे ।

उहाँले भन्नुभयो, “जल, जमीन र जङ्गल संरक्षण गरी हामीले भावी पुस्तालाई नासोको रुपमा दिन पहिलो चरणको योजना बनाई काम शुरु गरिसकेका छांै भने दोस्रो चरणमा हाम्रा बानी, व्यहोरा परिर्वतनसहितको योजना कार्यान्वयन गर्दै अघि बढेका छौँ । ”

वर्षायाममा बाढी, पहिरोको प्रकृतिक प्रकोपका कारण  स्थानीय वासिन्दाले ठूलो क्षति व्यहोर्नु परेकाले बल्ल अहिले यो योजना ल्याइएको हो भन्दै उहाँले  थप्नुभयो,“सबै वडामा जोखिमी न्यूनीकरणका लागि तालीम र नमूना गाउँ निर्माणका लागि विशेष योजना पनि  सँगै लिएर जनतामा जागरणको अभियान पनि चलाइएको छ ।

डोल्पा जिल्लाको त्रिवेणीसँग जोडिएको उक्त नगरपालिका पूर्वी क्षेत्रको स्थापित नाकाको रुपमा छ । जाजरकोटको पूर्वी क्षेत्रबाट जुम्ला जाने मूलबाटो पनि यही नगरपालिकाबाट भएर जानुपर्ने भएकाले अझ यो नगरपालिकाले धेरै काम गर्न बाँकी रहेको स्थानीय सरोकारवालाले  बताए  ।

चार सयदश मेघावाटको नलगाड जलविद्युत् आयोजनासमेत यही नगरपालिकामा निर्माण हुँदै छ भने अर्को चार मेघावाटको तासुगाड जलविद्युत् आयोजनाको डिपिआरको काम जारी  छ । नमूना विद्यालय अभियान सञ्चालन गरेको एक वर्ष बितिसकेको छ ।

नमूना विद्यालयमा विद्युतीकरण, इन्टरनेटको पहुँच, प्राथमिक उपचार बाकस, प्रतेक विद्यालयका  एक शिक्षकलाई प्राथमिक उपचार गर्ने तरिकाबारे जानकारीसमेत दिइसकिएको नगरपालिकाले जनाएको छ । नमूना गाउँ अभियान सफल पार्न नमूना विद्यालय पहिलो अभियान र सर्त भएकाले त्यो चरण पार गरिसकिएको हो ।

पैसाको खोलो बगाउने मात्र होइन, त्यसको उचित प्रतिफल  पनि निकाल्ने हो, जनताको करबाट सङ्कलित  पैसालाई जनताकै काममा लगाएर विकास गरिने नगरप्रमुख रावलले बताउनुभयो । नगरपालिकाको रग्दालाई लसुनको पकेट क्षेत्र, डाँडागाउँको पाली, कल्पतलाई महको नमूना गाउँ, लहँ डाँडागाउँ सुन्तलाको मुख्य क्षेत्र बनाएर अभियान थालिएको छ ।

सबै वडामा सडकको  पहुँच पु¥याउने काम भइरहेको चर्चा गर्दै नगरप्रमुख रावलले भन्नुभयो, “ अहिले साधारण बाटो खुला गरी सबै ठाउँमा सडक विस्तार गर्दै आइएको र  जाजरकोट–डोल्पा सडक पनि यही नगरपालिकाभित्र नै पर्ने भएकाले हामीलाई सडक निर्माणमा  अझ सहज भएको छ” ।

सरसफाइ र स्वास्थ्य  क्षेत्रलाई भरपर्दो बनाउनका लागि महिला स्वंयमसेविकालाई प्रोत्साहन भत्ता, गर्भवतीलाई समय, समयमा उपचार तथा जाँच सेवा, गाउँ गाउँमा स्वास्थ्य संस्थाको स्तरोन्नति समेत भइरहेको नगरपालिकाले जनाएको छ । अहिले नलगाड नगरपालिकाका सबै स्वास्थ्य संस्था र वडा कार्यालय र विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्