Logo

कृषिमा रमाउँदै आले, वार्षिक ६ लाख आम्दानी


 

कलाबखर संवाददाता,८,माघ–मुग्लिन । प्रायः सेना÷प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ । तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएपछि स्वदेश फर्केर कृषि पेशामा लागिरहनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारका आले कृषि पेशाबाट सन्तुष्ट हुनुहुन्छ ।

भारतीय सेनाको जागिरबाट सेवा निवृत्त ६६ वर्षीय आलेले विगत १८ वर्षदेखि कृषि पेशा गर्दै आउनुभएको हो । आले बिहानै उठेर एक घण्टाको उकालो चढेपछि वडा नं ४ कै केराबारी बिसौनामा रहेको सुन्तला बगैँचामा पुग्नुहुन्छ । दिनभर कृषि कर्ममा बिताउनुहुन्छ । उहाँलाई यो दैनिकीप्रति गर्व छ ।

छैसठ्ठी वर्षको उमेरमा परिश्रम गर्न बाध्यता छैन, तर कृषि कर्म नगरी दिन बिताउनै नसकिने उहाँ बताउनुहुन्छ । “एउटा छोरा विदेश, अनि अर्को छोरा राम्रो कम्पनीमा जागिरे, महङ्गो गाडी चढ्छन्, श्रीमतीको आफ्नै किराना पसल छ, मलाई पेन्सनले पुग्छ, कृषि पेशा मेरो लागि बाध्यता होइन सन्तुष्टि हो”, कृषि पेशाबाट आत्मसन्तुष्टि मिल्नुका साथै मनग्य आम्दानी पनि हुने उहाँको भनाइ छ ।

         वार्षिक ६ लाख आम्दानी

दुई बिघामा सुन्तला तथा अन्य फलफूल खेती गर्दै आउनुभएका आले राम्रो फल लागेको वर्ष सुन्तलाबाट मात्र रु छ लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । सुन्तलाका साथसाथै आलेको बारीमा आँप, कागती, नासपाती पनि छन् । मौसमअनुसार अन्य तरकारी बाली पनि लगाउने गर्नुहुन्छ । मलका लागि गाई पनि पाल्नुभएको छ ।

केही वर्ष होटल व्यवसायसमेत सञ्चालन गर्नुभएका आलेले होटल व्यवसाय छाडी कृषि पेशा शुरु गर्नुभएको हो । पेन्सन हुनुअघि भारतीय सेनामा रुचिअनुसारको तालीम प्रदान गर्ने गरिन्छ । उहाँले कृषिसम्बन्धी तालीम लिनुभएको थियो । आले कृषि पेशा मात्र गर्नुहुन्न, सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

गाउँमा बाटोघाटो, बिजुली, खानेपानीलगायत विकास निर्माणका काममा पनि सक्रिय रहेको स्थानीय विष्णु त्रिपाठी बताउनुहुन्छ । झण्डै आधा उमेर विदेशी भूमिमा समर्पित गरेर पनि पुनः अवकाशपछि विदेशिनेहरुलाई आलेले नेपालमै कृषि पेशा गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्