व्यावसायिक बन्दै सुदूरका छलिया र हुड्के नाच
कलाखबर संवाददाता,७, माघ, डोटी, ७ माघ ठूलाबडाको विवाह र बढाइँमा पुराना वीरयोद्धाका कथा तथा राजा रजौटाका गीतमार्फत देखाइने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध छलिया र हुड्ने नाच हिजोआज व्यावसायिक बन्न थालेको छ । यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रमका लागि छलिया र हुड्के नाच्नेको माग हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया र हुड्के नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ ।
पहिले ठूलाबडा एवं ठालुका घरमा विवाह व्रतबन्ध भयो भने मात्रै उक्त नाच देखाइने गरेको दिपायलका हुड्के गगने नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला नाच देखाएवापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर अहिले बोलाएको ठाउँमा देखाउँछौ र पैसा लिने गरेका छौं । अहिले सुदूरपश्चिम प्रदेशका व्भििन्न ठाउँमा महोत्सवलगायत धार्मिक कार्य चलेकाले सबैभन्दा बढी छलिया र हुड्के नाच्नेहरु व्यस्त हुने गरेको उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महोत्सवदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन, अहिले त हुड्के नाच्नेलाई अग्रीम बुकिङ गर्नुपर्छ ।” यति मात्र नभई दिपायल र तिखाका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले बताउनुभयो । दिपायलको हुड्के नाचले एक दिनको रु १० हजार तथा छलिया नाचको एक दिनको छलिया समूहले रु १५ हजारसम्म लिने गरेको छ । छलिया नाच प्रायःगरी बैतडी जिल्लावासीले नाच्ने गर्छन् ।
शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनामा चार÷पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ । रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको जिकिर गर्नुभयो । त्यसै गरी सुदूरपश्चिम प्रदेशकै प्रख्यात बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् ।
विभिन्न ठाउँमा छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टीकापुर र साँफेबगर महोत्सवमा छलिया नाच देखाएर रु एक ला ५० हजार कमाइएको बैतडी छलिया समूहले बताएको छ । छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाका तालमा नाच्न नजाने चोटपटक लाग्ने गरेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो ।
हुड्के नाचमा पुराना राजा रजौटा, बिर बिरंगना र देवि देवताहरुका जिवन गाथा गाउने गरिन्छ”, उहाँले भन्नुभयो, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाँच भएकाले नजानेमा चोट लाग्न सक्छ । संस्कृतिविद् डा बद्रीप्रसाद बिनाडीका अनुसार छलिया नाचले युद्धकलालाई झल्काउने गर्दछ । सुदूरपश्चिम प्रदेशमा रहेका छलिया, हुड्के, चौलो र भुवाँ नाचलाई व्यावसायिकतातिर लैजान सके यहाँको कलासंस्कृतिलगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने संस्कृतिविद् डा बिनाडीको भनाइ छ ।