गरुड पुराणले पायो सोलो प्रदर्शनको मौका

कलाखबर संवाददाता,४,माघ—काठमाण्डौं । कुनै नेपाली फिल्मका लागि अब एकल प्रदर्शन लगभग असम्भव छ । वर्षमा ५२ वटा हप्ता हुन्छन् तर वर्षमा सरदर सय बढी फिल्म रिलिज हुन्छन् । चलेका कलाकार भएका फिल्मले मात्र जेनतेन सोलो रिलिज पाउँछन् नभए अधिकांश फिल्मको भिडन्त दुईभन्दा बढी फिल्मसँग हुनु अब सामान्य भइसकेको छ ।
प्रायः हरेक हप्ता दुई बढी फिल्म रिलिज हुँदै आएता पनि माघ महिनाको पहिलो हप्ता भने फिल्म ‘गरुड पुराण’ एक्लै हलमा लागेको छ । गत हप्ताकै कुरा गर्ने हो भने ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आएका थिए । कमेडी फिल्म ‘गरुड पुराण’ टिमलाई भने भाग्यले राम्रो साथ दिएको छ ।
शुक्रवारबाट प्रदर्शनमा आएको उक्त फिल्मले एकल प्रदर्शन पाउँछ भन्ने निर्माण टिम स्वयंलाई विश्वास थिएन । हालै एक भेटमा निर्देशक सुवास कोइराला खुसी मुद्रामा भन्दै थिए, ‘कुनै एक फिल्म त आउँछ होला भन्ने सोचेका थियौं तर सोलो रिलिज पाउँदैछौं । सायद फिल्मको गीतसंगीत र ट्रेलरको प्रभाव होला ।’
हुन पनि ‘म त पिरिममा’ गीतले फिल्मको राम्रो हाइप निर्माण गरेको थियो । साथै कमेडीले भरिएको ट्रेलरले फिल्मप्रति दर्शकमा चासो बढाएको थियो । ‘गरुड पुराण’ ले एकल प्रदर्शन पाउनुको पछाडि नाम चलेका कलाकारलाई पनि मानिएको छ । अब यसले सोलो रिलिजको फाइदा चाहिँ कति उठाउने छ रु यो भने हेर्न बाँकी छ ।
यस फिल्मले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाएको छ । यस फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा छन् । फिल्ममा कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडालगायतको पनि अभिनय छ ।
यही फिल्मबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । ‘गरुड पुराण’ लाई सुसन प्रजापतीले खिचेका हुन् ।