Logo

वाइडबडी प्रकरणमा नेकपाका नेताहरु किन मौन बस्छन त ?


कलाखबर संवाददाता, २४,पौष–। काठमाडौँ सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई दोषी करार गर्दै उनीहरूलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।  समितिको यो निर्देशनपछि अख्तियारले उनीहरूमाथि भ्रष्टाचारविरुद्धको मुद्दा अघि बढाउने बाटो खुलेको छ ।

समितिको निर्णयमा बहालवाला मन्त्री र पूर्व मन्त्रीहरूलाई नैतिक जिम्मेवारी मात्रै लिन भनिएकाले उनीहरूप्रति लेखासमिति केही लचक देखिएको छ । तर, उनीहरु चोखो देखिएका छैनन् । सोमबार बसेको समितिको बैठकले वाइडबडी घोटाला प्रकरणमा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने मुख्य दोषीकारूपमा करार गरेको छ । लेखा समितिले गठन गरेको उपसमितिले छानविनपछि तयार पारेको प्रतिवेदनमा विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भ्रष्टचार भएको सार्वजनिक गरेको छ ।

उपसमितिले सार्वजनिक गरेको यो प्रतिवेदनमा बहालवाला मन्त्रीनै मुछिएपछि सर्वत्र चासोको विषय बन्न पुगेको छ । कार्यकर्ताले पार्टीका आशालाग्दा युवा नेताका रुपमा चिनेका मन्त्री अधिकारी लगायत अन्य पूर्वमन्त्री र सचिवहरु यो प्रकरणमा मुछिएपछि अधिकांश मिडियामा वाइडडी विमान खरिद प्रकरणमा भएको घोटाला र त्यसमा संलग्न भनिएका व्यक्तिबारे मुख्य हेडलाइनमा समाचार बनिरहेका छन् । सामाजिक संजालपनि वाइडवडी प्रकरणका विषयले भरिएको छ । प्रतिपक्षी दल लगायत अन्य दलका नेता कार्यकर्ताहरुले विभिन्न माध्यमबाट यस विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

तर, आफ्नै पार्टीका जिम्मेवार नेता तथा बहालवाला मन्त्री त्यसमा मुछिँदा समेत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । नत पार्टीका अन्य शीर्ष नेताहरुनै यस विषयमा बोलेका छन् ।  पार्टी र सरकारकै प्रतिष्ठासँग जोडिएको ‘वाइडवडी प्रकरण’ विषयमा नेताहरुको मौनताको रहस्य के रु यो विषयमा हामीले नेकपाका केही नेताहरुसँग बुझ्ने प्रयास गरेका छौं । तर, औपचारिक धारणा दिन नमानेका उनीहरुलेअनौपचारिक कुराकानीमा नेताहरु अहिले अप्ठ्यारोमा परेको बताए ।

‘एकातिर वाइडवडी प्रकरणको विषयमा बोलौँ भने पार्टीको औपचारिक निर्णय छैन । आफ्नो हिसावले बोलौँ भने पार्टी भित्रैबाट आलोचना खेप्न पर्ने समस्या हुन सक्छ’ ती नेताले बाध्यता सुनाउँदै भने, ‘भ्रष्टाचार भएको छैन भनेर बोलौँ भने सर्वत्र जनताले देखेका छन् । संसदमा प्रधानमन्त्रीले यो विषयमा बोल्नुहुन्छ भन्ने लागेको थियो बोल्नु भएन । हामी अप्ठ्यारोमा छौं, बोल्दा पनि समस्या नबोल्दा पनि समस्या ।’

 

प्रतिक्रिया दिनुहोस्