नेपाल किराँत कुलुङ संघद्वारा शुभकामना अदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम गरिने

कलाखबर संवाददाता,१२,पौष–काठमाण्डौं । नेपाल किराँत कुलुङ संघ उपत्यका कार्यसमितिले राजधानी काठमाण्डौमा शुभकामना अदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कुलुङ जातीहरुको बिशेष महान चाड मिनारी दाचाम लो निङदोङ चाक्चाकुरको अवसरमा सो कार्यक्रम गर्न लागीएको हो । हिन्दु धर्मावलम्बिहरुले दशै–तिहार मनाए जस्तै कुलुङ जातिहरुले पनि हर्ष र उल्लासका साथ यो चाड मनाउदै आएको छ ।

यो चाड पौष १५ देखि माघ १५ सम्म मनाउने चलन छ । कुलुङ जातिहरुको आफ्नै किसिमको संवत दिन, बार र महिनाहरु हुन्छन् । जस अनुसार पौष १५ देखि माघ १५ सम्मलाई चाक्काकुर भनिन्छ । यो महिनालाई यी जातिहरुले नयाँ वर्षको रुपमा पनि लिने चलन छ । अहिले यले संवत ५०७९ को अवसरमा देशका विभिन्न स्थानहरुमा यी जातिहरुले यो चाड मनाउदै छन् ।

बिशेष गरि यी जातिहरुको उदगम थलोको रुपमा महाकुलुङ गाउँपालीका सोलुखुम्बु , संखवासभा, भोजपुर धरान, सुनसरी लगायतका विभिन्न ठाउँहरुलाई लिइन्छ । यही पौष १५ गते राजधानी बाहेक महाकुलुङ गाउँपालीका, संखवासभा, भोजपुर धरान, सुनसरी लगायतका विभिन्न ठाँउहरुमा समेत एकै दिन वृहत रुपमा कार्यक्रम हुदैछ । यस दिन कुलुङहरुको भाषा सँस्कृति अनुसारको पहिरन लागाएर आफ्नो सँस्कृति झल्काउने गरिन्छ ।

राजधानी काठमाण्डौका लागी कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी पूर्ण रुपमा तयारी भईसकेको आयोजक भुपेन्द्र थिम्राले कलाखबरलाई जानकारी दिनु भयो । कार्यक्रमलाई रोचक र मनोरञ्जनपूर्ण बनाउनका लागी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति राखिएको उहाले बताउनु भयो ।

कार्यक्रममा सत्य कला राई, सुस्मिता राई, रिदिमा कुलुङ, लिला राई, क्षितिज कुलुङ,सुमन कुलुङ,भीम कुलुङ,अर्चना कुलुङ,अजय कुलुङ, सुहाङ लिम्बु, वाल गायक मनिष लिम्बु, विनिता राई, राहुल श्रेष्ठ,अधिश्री कस्पाल,संयाेगान्त कुलुङ लगायतका कलाकारहरुले बेजोड प्रस्तुति दिने भएको छ ।