आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी

कलाखबर संवाददाता,२५,मंसिर – काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध कडा रुपमा उत्रने चेतावनी दिएका छन् । मंगलबार राजधानीको रिपोर्टरस कलवमा पत्रकार सम्मेलन गर्दै तत्काल सो निर्णय खारेज गर्न सरकारसँग माग
गरेका छन् । यदि सरकारले आफूहरुको यो मागलाई बेवास्ता गरेमा एक साता लामो आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । परापूर्वकालदेखि चलिआएको आफ्नो मौलिक, साँस्कृतिक, पर्वलाई सरकारले बेवास्ता गर्दै विदा कटौती गरेको बिरुद्ध महाँसघले खेद प्रकट गरेको छ ।

परिवर्तनपश्चात पनि आदिवासी जनजाति समुदायले अन्याय, असमानता, दमन र विभेद भोगिरहेको अवस्थामा महासंघले गुनासो गरेको छ । महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्न मागसमेत गरेको छ । आदिवासी जनजातिहरु मुलुकप्रति बफादार रहेको बताउँदै बरामले सरकारले आफूहरुका माग नसुने क्रान्ति गर्ने चेतावनी समेत दिए।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगतबहादुर बरामले नेपालका शासकहरुले आदिवासीमाथि दमन गर्दै अत्यचार गरेको आरोप लगाउनु भएको छ । उनले सार्वजनिक विदा कटौती गर्ने गृहमन्त्री रामबहादुर थापालाई लक्षित गर्दै , ‘नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउने भनेर नारा दिने, तर आदिवासी जनजातिहरुको हकअधिकार माथी कुण्ठित गर्ने ? भनेर प्रश्न गर्नु भयो । अध्यक्ष बरामले भने, ‘अहिलेसम्म भएका परिवर्तनका आन्दोलन र क्रान्तिहरुमा हाम्रो ठूलो भूमिका थियो र छ ।

तर, हाम्रो रगत र ज्यानको मुल्यांकन भएन । बरु हामीमाथि उल्टै अपमानको खेल भइरहेको छ भन्नु भयो । सरकारले आफूहरुले पाउँदै आएको सार्वजनिक विदालाई तत्काल फिर्ता नगरे जस्तोसुकै मूल्य चुकाउन पनि आफूहरु तयार रहेको बताउनु भयो । उनले आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवाव मुलक आन्दोलन सुरु गर्नुपरेको बताए ।

महासंघले सो विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दूतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यतालिका समेत महासंघले तयार पारी सकेको छ ।

महासंघले पुस १ गते नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि ध्यानाकर्षणपत्र बुझाउने जनाएको छ । पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको महासंघका अध्यक्ष बरामले बताए ।