सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय
सांकेतिक तस्वीर ।
कलाखबर संवाददाता, १२ मंसिर–सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका २ लुक्लाबजारको एभरेष्ट माउण्टेन होममा घरेलु काम गर्दै आएकी महाकुलुङ गाउँपालिका ३ छेस्कामकी दुई वालीका मृत अवस्थामा मंगलबार भेटिएका छन् । १६ वर्षिया संगना कुलुङ राई र उनकी ९ वर्षिया बहिनी खुशी कुलुङ राईलाई सुतेकै ठाउँमै मृत भेटिएको हो ।
संगनाले ५ वर्षदेखि होटलमा घरेलु काम गर्दै आएका थिए, भने खुशीले लुक्ला आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दै गरेको जानारीमा आएको छ । सोमबार राती खाना खाएर सँगै सुतेका राई दिदीबहिनी एक्कासी विहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनास्थलमा प्रहरी नायब उपरीक्षकको टोली पुगी थप अनुसन्धान गरेको खबर जानकारीमा आएको छ ।
मृतक दिदीबहिनीको लाशलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको प्रहरीले बताएको छ । घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको पनि बताइएको छ । मृतक दिदीबहिनी यस्तो अवस्थामा थिए । सोमबार राती खाना खाईसकेपछि होटलको सबैकाम सकेर दिदीबहिनी सँगै सुत्न गएका थिए । उनीहरु सुत्ने कोठा होटलको सबैभन्दा तल छिँडीको कोठामा छ ।
आइतबारदेखि लुक्लाबजार क्षेत्रमा विद्युत पनि थिएन । उनीहरु सुत्ने कोठासँगै जोडिएको अर्को कोठामा जेनेरेटर चलाइएको थियो । सकुशल सुत्न गएका दिदीबहिनी विहान अबेरसम्म नउठेपछि घरबेटी उनीहरुलाई उठाउन कोठामा गएका थिए । उनले ढोका ढकढकाए तर भित्रबाट चुक्कुल लगाइएको थियो । अलि जोडले धकेल्दा ढोका खुल्यो । तर, दिदीबहिनी मृत अवस्थामा देखेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
दिदी संगना घोप्टो परेको अवस्थामा थिइन, भने बहिनी खुशी कोल्टे फर्किएको अवस्थामा भेटीएको स्रोतले जनाएको छ । उनीहरुको मुखमा अलिअलि फिँज पनि भएको बताईएको छ । उनीहरुसँगै साथमा रहेको कुकुर पनि सामान्य अवस्थाभन्दा फरक भेटिएको थियो । कुकुर हिड्न खोज्दा पनि लरबराएर हिड्थ्यो । स्थानीयका अनुसार दिदीबहिनीको मृत्युमा सुत्नेकोठसँगै जेनेरेटर चलाइएकाले अक्सिजनको कमी भएको वा फुडप्वाइजन भएर मृत्यु भएको आशंका गरिएको छ ।
स्थानीयले जे आशंका गरेपनि लाशको पोष्टमार्टनपछि मृत्युको कारण खुल्न सक्छ । खुम्बुमा कामदारलाई राम्रो व्यवहार गरिदैन भन्ने समय समयमा विभिन्न समाचार सार्वजनिक भएपनि त्यसतर्फ सम्बन्धित पक्षको ध्यान नजादा यस्ता घटना दोहोरिई रहेका छन् । पर्यटनको उदगम विन्दु मानिएको सोलुखुम्बुमा हरेक होटल मालिकहरुले कामदार र भारी बोक्ने भरियाहरु प्रति दुरव्यवहार गर्ने गर्दछन् ।
पर्यटकहरुको झोला बोक्ने भरियाहरुलाई यद्यपी बास बस्न समेत दिइन्दैनन् । नाम्चे बजारको पानाराम होटलमा कुनै भरिया प्रबेश गर्यो भने अनेक गाली गलैज र हप्काउने गरिएको एक व्यक्तिले कलाखरलाई बताए । अहिले स्थानीय सरकार गाउँमै भएकाले यस विषयमा चासो राख्नु निकै आवश्यक देखिन्छ । जसले यस्तो घटना कहिल्यै नदोहोरियोस ।