Logo

सात अर्ब राजश्व उठयो


 

कलाखबर संवाददाता, १५,कात्तिक– चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा झण्डै रु सात अर्ब ३४ करोड राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ११८ प्रतिशत राजश्व सङ्कलन भएको हो ।

कार्यालयले चालू आवकोे तीन महीनामा आयकर रु ३१ करोड ४३ लाख ४१ हजार, ब्याजकर रु तीन करोड ९६ लाख, मूल्य अभिवृद्धि कर रु ३९ करोड २६ लाख ४६ हजार र अन्तःशुल्क रु ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु पाँच अर्ब दुई करोड १८ लाख ४८ हजार राजश्व सङ्कलन भएको थियो ।

कार्यालयका अनुसार साउनयता दुई हजार ५७९ नयाँ करदाता थपिएका छन् । असोज ७ गतेदेखि नवलपुर जिल्लामा पनि सेवा कार्यालय स्थापना भएको छ । नवलपुरको कावासोतीस्थित सेवा कार्यालयबाट राजश्व सङ्कलन गर्न सकिने भएकाले राजश्व कार्यालय भरतपुरमा सेवाग्राहीको चाप कम भएको छ ।
कार्यालयका प्रमुख शुभ रिजालका अनुसार कर परीक्षण र अनुसन्धानका काम भने भरतपुरबाटै हुनेछन् । त्यस्तै नवलपुरका करदाताले अन्तःशुल्क कर पनि आन्तरिक राजश्व कार्यालय भरतपुरमा नै बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

आन्तरिक राजश्व विभागले यस कार्यालयका लागि रु २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार वार्षिक लक्ष्य निर्धारण गरेको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८१ करोड ३१ लाख २१ हजार राजश्व सङ्कलन गरेको थियो । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले अधिकांश राजश्वको हिस्सा अन्तःशुल्कबाट सङ्कलन हुने गर्दछ ।

कार्यालयअन्तर्गत प्यान लिएका ३२ हजार ६९५ र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ करदाता छन् । मूल्य अभिवृद्धि कर ९भ्याट० मा सात हजार ७३५ करदाता दर्ता भई अन्तःशुल्कतर्फ तीन हजार ४४३ करदाताले इजाजत नवीकरण गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्