Logo

जेनेभा बैठकमा मन्त्री थापाले के भनिन् ?


कलाखवर सम्वाददाता, कात्तिक,९ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विविध सामाजिक परम्परा,धार्मिक अन्धविश्वास तथा कुरीति नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ ।

स्विजरल्याण्डको जेनेभामा हिजो भएको ‘महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)को कार्यक्रममा नेपाल सरकारका तर्फबाट छैटौं प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

त्यस्तै महिला हिंसा र लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामूलक समाज निर्माणमा सरकार कटिवद्ध रहेको बताउनुभयो । उहाँले वर्तमान नेपालको संविधान महिलामैत्री भएको बताउँदै दक्षिण एशियाको नै उत्कृष्ट तथा मार्ग दर्शकका रुपमा रहेको समेत दाबी गर्नुभयो । कार्यक्रममा नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्ति, प्रजनन स्वास्थ्यलगायत कुरामा महिलालाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएको जानकारी गराउनुभयो ।

उहाँले संघीयताको कार्यान्वयवनसँगै कानुन तथा ऐन निर्माणको क्रममा रहेको र पूर्ण रुपमा ऐन तथा कानुनको निर्माण पश्चात महिला हिंसाको पूर्ण रुपमा अन्त्य हुने दावि गर्नुभयो । उहाँले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउन महिलाको भूमिका अतुलनीय रहने बताउँदै आगामी दिनमा लैङ्गिक विभेदको खाडललाई अन्त्य गराउने उद्घोष गर्नुभयो ।

उहाँले नेपालमा बढ्दै गएको बलत्कारका विषयमा नेपाल सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई कानूनी कठघरामा ल्याइने जिकिर गर्नुभयो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जेनेभामा भएको उक्त कार्यक्रमको महिला, कानून तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्