Logo

जय भोले चलचित्र पनि नाफामा उक्लदै


कलाखबर सँवाददाता,७,कात्तिक–काठमाडौं । निर्माता निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘ रातो टिका निधारमा’ घोषणा गरेका छन् । बुधबार ९आज० राजधानीमा एक कार्यक्रम गर्दै उनले सो चलचित्र घोषणा गरेका हुन् । अघिल्लो साता अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ले दोस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको खुसीयालीमा उनले यो चलचित्र घोषणा गरेका हुन् ।
कार्यक्रममा शर्माले ‘जय भोले’ नाफामा गइसकेको दाबी गर्दै सोमबारसम्मको चलचित्रको व्यवसायले आफु नाफामा जान सफल भएको बताए ।

उनका अनुसार सोमबारसम्म चलचित्रले ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । चलचित्रले पहिलो साताझै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको शर्माले बताए । ‘अबको व्यवसाय सबै नाफा हो’ उनले भने । करिब एक करोड ३५ लाखमा निर्माण भएको ‘जय भोले’ यसपालीको दशैं ‘जय भोले’सँगै भन्ने नारासहित रिलिज भएको थियो । चलचित्रको व्यवसाय दिन प्रतिदिन बढिरहेको शर्माले सुनाए । उनले अगाडि थपे– ‘छक्का पन्जा ३’ सँग ‘जय भोले’ जुधाउन पाएको भए झन् व्यवसाय हुनेरहेछ ।’ पहिलो र दोस्रो दिन ठिकठिकै व्यवसाय गरेको चलचित्र ‘छक्का पन्जा ३’ को व्यवसाय दर्शकको राम्रो प्रतिक्रियापछि बढेको उनको बुझाइ रहेको छ ।

उपत्यका र उपत्यकाबाहिर पूर्वका केही चलचित्र भवनमा दर्शकको प्रतिक्रियाका लागि पुगेका शर्माले अगाडि भने– ‘निकै लामो समयपछि राम्रो चलचित्र हेर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएका छौं । यसले गर्दा म अझ बढी उत्साहित छु ।’ पहिलो साताभन्दा यो साता चलचित्रका लागि केही हल समेत थपिएको बताएका शर्माले बर्षौ पहिले आफुले बनाएको राम्रो चलचित्रका कारण पनि ‘जय भोले’ हेर्न दर्शक हलसम्म आएको उनले सुनाए । राजनराज शिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यतिबेला यो चलचित्र मुलुकका १२५ ओटा सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

‘जय भोले’ र ‘छक्का पन्जा ३’ दुवैमा अभिनय गरेका कलाकार बुद्दि तामाङले कार्यक्रममा दुबै चलचित्र सफल हुँदा निकै खुसी लागेको बताए । उनले दुबै चलचित्रको प्रचारप्रसारको लछारोले आफुलाई जरो निकालेको सुनाए ।  चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्दि तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरवीर पण्डितलगायत मुख्य भूमिकामा रहेका छन् ।

आजै घोषणा गरिएको चलचित्र ‘रातो टिका निधारमा’ फागुनबाट फ्लोरमा निस्किनेछ । चलचित्रका लागि बुद्दि तामाङबाहेकका कलाकार फाइनल हुन बाँकी रहेका छन् । चलचित्रको बाँकी कलाकार विषयबस्तु छायाँकनमा जानुपूर्व आयोजना गर्ने कार्यक्रममा जानकारी दिने निर्देशक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्