चलचित्र सायाबुङको ब्यानर सार्बजिक, प्रदर्शन मिति भाद्र ३० गते

कलाखबर संवाददाता, २६ भाद्र-काठमाण्डौं । पुर्वीय नेपालको किराँती लिपी र सँस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ प्रर्दशनमा आउने भएको छ । वान्तावा भाषामा ‘साया’ को अर्थ शिर र र ‘बुङ’ को अर्थ ‘फूल’,यी दुईवटा शब्द मिलेर सायाबुङ अर्थात शिरफूल यस चलचित्रको नाम रहेको छ ।
द पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा बनेको चलचित्र साया राईले निमार्ण गरेकी हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै भाद्र ३० गतेबाट देश तथा विदेशका विभिन्न स्थान तथा हलहरुबाट प्रर्दशन गर्ने मिति तयार भएको निर्मात्री साया राईले कलाखबरलाई बताईन् ।
पहिलो प्रदर्शन किराँत राई यायोक्खाको कार्यालय कोटेश्वरबाट हुने भएको छ । यो चलचित्रमा विशेष गरि पूर्वीय पहाडी भेगमा जिवन विताइ रहेका किराँती जिवन शैली र मौलिक सभ्यता समेटिएको निर्मात्री राईले बताइन् ।पहाडी जिवनको बसाई र भोगाइ अनि भेषभुषा,भाषा-लिपि र हराउदै गएको मौलिकता चयन भएकोले यो चलचित्र निकै रोचक बनेको छ । कथावस्तु अनुसार मिराक राईको गोठमा वालापनबाटै टुहुरो लिम्बुको छोरो बस्दै आएको र उमेर पुगेपछि वस्ति नजिकैकी किराँती छोरी सुम्निमासँगको त्रिकोणात्मक प्रेमकथा समेटिएको छ ।
यो चलचित्रलाई लेखन तथा निर्देशन भगिराज राईले गरेका हुन् । कथाले मागेअनुसारको भेषभुषा,पहिरन, सुटिङ स्थल र पात्रहरुको चरित्र चित्रण गरिएकोले चलचित्र अर्थपूर्ण बनेको निदेर्शक राईले बताए । सबै नयाँ अनुहारका कलाकारहरु भए पनि रोचक अभिनय भएको छ, आमदर्शकले रुचाउनेमा म विश्वस्त छु, निर्देशक राईले भन्नु भयो ।
चलचित्रको नाम राई भाषामा राखिए पनि सबै कथाबस्तु नेपालीमा साभार गरिएको छ । चलचित्र निर्माणको क्रममा अनेक चुनौती र समस्याहरु आई परेपनि सुहाउदो कथावस्तु, पात्र चयन, तथा पहिचान झल्काउने मौलिक सँस्कृतिहरु समेटिएकोले यो चलिचित्र उत्कृष्ट भएको सहल्लाहकार जिवनजीत राईले बताउनु भयो ।
करिब १६ लाखमा सुटिङ सकाउने अड्कल गरिएको थियो तर अन्तिम सम्म आई पुग्दा ३५ लाख लगानी लाग्यो,राईले भन्नु् भयो । यसमा शब्द संगीत भक्त सुनुवार र उदय नेम्वाङको रहेको छ, भने दिपक लिम्बु, रजिना रिमाल, दिपा लामा, उदय नेम्वाङ,गौरि मान राई,भगि राज राई आदिले स्वर लहरी भरेका छन् ।
कलाकारहरुमा सौजन सुब्बा, निसा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई, दिब्य आङदेङबे आदि रहेका छन् । देब जङ थापाको छाँयाङ्कन तथा सम्पादन रहेको चलचित्रलाई पाँचथरको फालोट,सन्दकपुर, सिलौटी, लुब्रेकोटी, र भारतको मनिपुर जस्ता रोचक स्थानहरुलाई मुख्य परिवेश बनाइएको छ ।