कविता : प्यास
मीरा प्रसाईं
प्यास पानीको
प्यास जिन्दगीको
प्यास जिज्ञासाको
प्यास मनको
प्यास धनको
प्यास ज्ञानको
प्यास यौवनको
प्यास भौतिक्ताको
प्यास प्राप्तिको
अनि लागिरहन्छ प्यास
तिमीसँग सम्बन्धित अन्य धेरै चिजको ।
बा भन्थे
‘प्यासको निकास हुन्छ
आशालाई निराशामा नबदल्नू!’
तर ,
आशै आशमा बुढयौलीवयले छोइसक्यो
प्यास त अन्तर हृदयदेखि कै थियो
तिम्रो प्राप्तिको
तर ,
उसले त सन्तुष्ट हुने क्षमता राख्दो रहेनछ
अनेक बाहनामा प्यासको
चाहना पलाइरहने रहेछ ।
तिमीबाहेक अन्य धेरै चिजको प्यास निकास भयो प्रीय!
तर,
तिम्रो प्राप्तिको प्यास निकास हुन नसकेर
`डिहाड्रेसन´ले एतिखेर छाला रुख्खा सुख्खा
हुँदैछ
अवयबहरु निष्क्रिय हुँदैछन्
अझै पनि लाग्छ –
लुकाउ मुटुमा
समेटौं अँखामा
तिमीप्रतिको तिब्र चाहना देखेर
कहिलेकाही आफैंसँग म प्रश्न सोध्छु
– किन बुझ्दैन होला तिमी प्रतिको मेरो प्यास?