Logo

करणको फिल्ममा करिना, आलियादेखि जान्भीसम्म


कलाखवर सम्वाददाता, श्रावण २४ – बलिउड निर्देशक करण जोहरले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्र ‘मल्टिस्टारर’ हुनेछ । बिहिबार बिहान ट्विटरमार्फत जोहरले आफ्नो निर्देशनमा चलचित्र ‘तख्त’ निर्माण हुने जानकारी दिए । उनले चलचित्रको टिजर पोस्टर पनि जारी गरेका छन् ।

चलचित्रमा रणवीर सिंह, करिना कपुर, आलिया भट्ट, जान्भी कपुर, भिक्की कौशल, भूमि पड्नेकर, अनिल कपुर लगायतको अभिनय रहनेछ । कलाकारको सुचीमा अझै केही स्टार थपिन सक्ने बताइएको छ । करणले ट्विटरमा लेखेका छन् ‘तख्तको प्रमुख कलाकारहरुको घोषणा गर्न पाउँदा म एकदम उत्साहित छु ।’उनले इन्स्टाग्राममा चलचित्रको विषयमा केही रहस्यहरु चुहाएका छन् । ‘इतिहासको गर्तमा लुकेको एउटा सनसनीपूर्ण कथा‘। मुगलको सत्ताको निम्ति अभूतपूर्व लडाई‘ एउटा परिवारको, महत्वाकांक्षाको, घमन्डको, धोकाको र प्रेमको कथा‘ तख्त प्रेम र यूद्धको बारेमा हो ।’

आलिया भट्ट र करिना कपुरले यसअघि फिल्म ‘उड्ता पञ्जाब’मा एकसाथ काम गरेका थिए । तर, उनीहरु पर्दामा एकैसाथ देखिएका भने थिएनन् । आफू एउटा ऐतिहासिक चलचित्रको हिस्सा हुन पाएको भन्दै आलियाले खुशी व्यक्त गरेकी छन् । ‘लभ यू करण । सेटमा जाने दिनको प्रतिक्षामा छु । यति शान्दार कास्टको एउटा हिस्सा बन्न पाउँदा गौरवान्वित छु,’ उनले लेखेकी छन् ।

‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ पछि रणवीर सिंहको यो तेस्रो ऐतिहासिक चलचित्र हुनेछ । उनले पनि यो चलचित्रको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरेका छन् । श्रीदेवीकी छोरी जान्भी कपुरको यो दोस्रो चलचित्र हुने भएको छ । उनले यसअघि ‘धडक’ मा काम गरेकी थिइन्, जुन हालै प्रदर्शनमा आएको छ । यो फिल्म सन् २००० मा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्