Logo

कृषि मन्त्री खनालको कार्वाही एक्सन स्वागत योग्य ।


कलाखबर संवादादाता, २५,जेठ– काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफुल तथा तरकारी बजारमा ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ जनालाई कार्वाही गर्ने भएको छ । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले ३ सय ३८ व्यवसायीलाई कार्वाहीका लागि सिफारिस गरि सकेको छ । यसरी कार्वाहीको सूचिमा पर्नेमाहरुमा बहुउदेश्यीय भवन र टहराभित्र रहेका व्यवसायीहरु छन् ।

कार्वाहीमा पर्ने भएपछि व्यावसायीहरु आन्दोलनमा उत्रेका छन् । बिहीबार बिहान समितिको कार्यालय घेराउ गर्दै उनीहरुले नाराबाजी समेत गरेका थिए । तर कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले भने कालिमाटीको सिन्डिकेट अन्त्य गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयका कर्मचारीसहित गत सोमबार कालिमाटीको बजार अनुगमनमा पुगेका मन्त्री खनालले त्यहाँको वेथिति अन्त्य गर्न निर्देशन दिँदा विचौलियाहरुले आन्दोलन थालेपछि अब आफू कुनै पनि हालतमा पछि नहट्ने र जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा निक्कै ठूलो वेतिथि रहेको, विचौलियाहरुको बिगबिगी रहेको पाइएपछि मन्त्रालय आक्रामक रुपमा प्रस्तुत भएको हो ।

किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको, तीन चार तहका विचौलिया सक्रिय रहेको, बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको ठाउँ हेरी ८ देखि १० हजार मात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म खाने गरेको अनुगमनका क्रममा पाइएको थियो । व्यासायीहरुको यस्तो कदमले गर्दा किसान तथा आम उपभोक्ता निकै मर्कामा परेका छन् ।

कार्यविधिअनुसार आफ्नो स्थानमा स्वयं कारोवार नगरी अन्य कुनै व्यक्ति वा संस्थालाई विक्री गर्ने, भाडामा दिने वा समितिले उपलब्ध गराएको परिचय पत्रविहिन व्यक्तिबाट कारोबार गर्न पाइँदैन ।

त्यो गरेको पाइएमा ७ दिनको समय दिइ कसुरको मात्राअनुसार स्पष्टिकरण माग गरी अख्तियारी दिने वा सम्झौता खोज गरी इजाजत रद्ध गर्नुपर्ने भएमा व्यवसायीको नाम किटान गरी शुक्रबार बस्ने बोर्ड बैठकमा पेश गर्ने सरकारको तयारी छ ।यस किसिमको अपराध तथा भ्रस्टचार विरुद्ध वीना जान्कारी मन्त्री खनालको छड्के चेकिङ स्वागत योग्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्