Logo

तरकारी वालीले कुशुम श्रेष्ठलाई सेलीब्रेटी बनायो


 

कलाखबर संवाददाता,बैशाख–२, काठमाडौँ । एक पटक उनी यसरी चर्चामा आइन्, जसलाई एकै रातमा देशले चिन्यो र विदेशी मिडियामा पनि छाइन् । तर, चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । फेरि एक पटक फिल्मी पर्दाले उनलाई चर्चामा ल्यायो । तर, अहिले त्यो पनि सुस्ताएको छ ।

तर, २०७५ को सुरुकै महिना उनका लागि दबाबपूर्ण छ । पहिलो उनी १२ कक्षाको परीक्षाको तयारीमा छन् । दोस्रो यसै महिना नै उनले अभिनय गरेको चलचित्र प्रदर्शन हुँदैछ । एकातिर परीक्षाको तयारी र अर्कोतिर आफूले अभिनय गरेको चलचित्रको प्रमोसनको समय ।

दोहोरो दबाबकाबीच उनी केही छायामा छिन् । त्यसैले उनलाई भेट्ने जोकोहीको प्रश्न हुन्छ–अहिले किन छायाँमा हुनुहुन्छ रु

उनलाई प्रश्नहरूको जवाफ दिन मिडियाले पनि सिकायो र चलचित्रको ‘डायलग’ पनि । किनभने पछिल्लो दुई वर्षमा उनले धेरै प्रश्नको उत्तर दिइन् र एउटा चलचित्रको सुटिङमा धेरै कुरा सिकिन् ।

भेट्नेबित्तिकै उनीतिर सबैले तेस्र्याउने किन छायाँमा हुनुहन्छ रु प्रश्नमा उनी करिब–करिब बनिबनाउ जवाफ दिन्छिन् ।

बिहीबार हाम्रो पनि त्यही प्रश्न थियो र उत्तर पनि उस्तै ‘रेडिमेड’ । ‘अहिले अध्ययन र चलचित्र अभिनयमा व्यस्त रहेका कारण बाहिर हिँड्न त्यति पाएकी छैन । त्यसैले पनि छायाँमा रहेको जस्तो भएको हो’, उनले सबैलाई दिने ‘रेडिमेड’ जवाफ दोहोर्याइन् ।

उनी अर्थात् कुशुम श्रेष्ठ । कुशुम नामले कम र ‘तरकारीवाली’को परिचयले उनी बढी चिनिन्छिन् ।

तरकारी बोकेर बजार जाँदै गर्दाको तस्बिर भाइरल भएपछि उनी रातारात सेलिबे्रटी बनेकी थिइन् ।

 

तर, अब उनी चाँडै नै आफू चर्चामा आउने बताउँछिन् । ‘मैले अभिनय गरेको चलचित्र ‘लम्फु’ २८ वैशाखबाट प्रदर्शनमा आउँदैछ । अब फेरि चर्चामा छाउने छु’ बिहीबार अनामनगरमा अचानक भेटिएकी कुशुमले भनिन् ।

उनीसँगै चलचित्रका निर्माताका शक्तिबल्लभ घोरासैनी र मिडिया कोअडिनेटर जीवन पराजुली पनि थिए । बिहीबार मध्यान्न आयोजना गरिएको चलचित्र ‘लम्फु’को प्रेसमिट कार्यक्रमको छलफलले उनीहरूलाई एक ठाउँमा जुटाएको थियो ।

भाइरल भएर चर्चामा रहेको समयदेखि अहिलेसम्म उनी सार्वजनिक कार्यक्रममा त्यति देखिएकी छैनन् । बोलाए पनि उनी सहभागी हुन्नन् । किनभने अध्ययन र चलचित्र अभिनयले उनले फुर्सदै छैन ।

‘अभिनयलाई समय दिएँ । त्यसपछि अध्ययन बिगार्नु हुँदैन भनेर समय दिइरहेकी छु ।’ उनले व्यस्तता सुनाइन््, ‘अझै फ्री भएकी छैन । कक्षा १२ को परीक्षा आउँदैछ । त्यसको तयारी अझै बाँकी छ ।’

उनी बिहीबार राखिएको चलचित्र ‘लम्फु’को प्रेस मिटमा सहभागी हुन चितवनबाट राजधानी आएकी हुन् ।

निर्माण युनिटले कार्यक्रममा सहभागी भएर चलचित्रको प्रचारमा साथ दिन गरेको अनुरोध उनले टार्न सकिनन् ।

केही दिनपछि परीक्षाको मनसायले उनी राजधानी छिरेकी हुन् ।

भ्याएसम्म शनिबार नत्र आइतबार चितवन फर्कने उनको योजना छ ।

करिब दुई वर्षअगाडि उनको तस्बिर भाइरल भएको थियो । सो समय उनी एसएलसी दिएर बसेकी थिइन् ।

अहिले उनी कक्षा १२ को परीक्षा दिने तयारीमा छिन् । क्षमताले भ्याएर जागर चलेसम्म अध्यायन गरिरहने उनको सोच छ ।

‘अध्ययन कुनै हालतमा पनि छोड्दिनँ । चलचित्रमा आइसकेँ यसलाई पनि अगाडि बढाउँछु ।’ उनले थपिन् ।

‘लम्फु’ उनको डेब्यु चलचित्र हो ।

तस्बिर भाइरल भएको समयमा उनमा अभिनयमा आउने कुनै सोच थिएन । मिडिया अन्तरवार्ताको क्रममा पनि उनले अभिनयमा छिट्टै नआउने बताएकी थिइन् ।

कतिपय चलचित्रका निर्माता उनको नो जवाफले ‘मुडअफ’मा थिए । तर चलचित्र ‘लम्फु’ भने उनले स्वीकार गरिन् ।

यो चलचित्रमा किन उनले अभिनय गरिन् रु धेरैको खुल्दुलीको प्रश्न पनि उनलाई राख्यौँ ।

‘चलचित्र युनिटले मेरो अध्यायन सहज बनाउन धेरै सहयोग गर्नु भएको छ’, उनले भनिन्, ‘टिम पनि राम्रो थियो । चलचित्रको कथा र विषयवस्तु पनि मन पर्यो ।’

चलचित्र प्रदर्शनमा आउँदा प्रचारमा साथ दिनु कलाकारको पहिलो दायित्व हो । प्रचारमा हिँड्न सक्यो भने चलचित्र र आफू दुवैलाई फाइदा हुन्छ । यो उनले पनि बुझेकी छिन् ।

तर ‘लम्फु’को प्रचारमा भने उनी त्यति देखिने छैनन् । ‘परीक्षा दिइसकेपछि चलचित्र प्रचारलाई साथ दिन्छु ।’ उनले योजना सुनाइन् ।

‘लम्फु‘सँग उनी जोडिएको करिब एक वर्ष हुन लाग्यो । यो बीचमा उनले कुनै पनि अर्को चलचित्र अभिनय गरेकी छैनन् ।

अफर धेरै नआएको पनि होइनन् ।

पहिलो चलचित्रको रिजल्ट हेरेर मात्र अर्कोमा काम गर्ने चाहना उनले सुनाइन् ।

‘लम्फुले राम्रो चर्चा दिलाउँछ’, उनी ढुक्क देखिइन् ‘राम्रो निर्माण युनिटसँग काम गर्न पाए । काम पनि राम्रो भएको छ ।’ पहिलो चलचित्रले नै चर्चाको शिखरमा पुर्याउनेमा उनी आसावादी छिन् ।

केही पहिले चलचित्रको ‘सँगै जिउने सँगै मर्ने’ गीत सार्वजनिक भएको थियो । यो गीतमा उनी नै देखिएकी थिइन् ।

गीतले दिन प्रतिदिन चर्चाको खुड्किलो चढ्दै छ ।

‘लम्फु’मा उनी मात्र एक्लो कलाकार होइनन् ।

चिनिएका अनुहार सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायत पनि छन् । तर चर्चाको केन्द्रमा भने उनी छिन् ।

लम्फुमा उनी कुन हिरोको जोडी हुन् । कस्तो अभिनय छ रु प्रश्न राख्न नपाउँदै उत्तर फर्काइन्, ‘यो थाहा पाउन चलचित्र रिलिजसम्म कुर्नुपर्ने हुन्छ ।’ उनले छिट्टै जवाफ फर्काइन् ।

रमाइलो रमाइलोमै चलचित्र अभिनय सकाएकी उनले सुटिङ सम्झिइन्, ‘अग्रजहरूले सबै सिकाउनुभयो । टिमको मायाले गाह्रो हुँदाहुँदै पनि चलचित्र सकिएको पत्तो भएन ।’

तस्बिर भाइरल भएपछि उनलाई चलचित्रको अफरको ओइरो लाग्यो । कुन खेल्ने कुन नखेल्ने उनले केही सोच्न सकिनन् । धेरैलाई त उनले अहिले चलचित्रमा आउने सोच छैन समेत भनिन् ।

‘लम्फु’ युनिटले आफ्नो अध्ययनलाई पुर्याएको योगदानले गर्दा उनले नो भन्न सकिनन् ।

‘लम्फु’ अभिनय उनले समाजसेवाका लागि पनि गरेकी हुन् । चलचित्र अभिनयको पूरै पैसा समाज सोवामा खर्चिने आफ्नो सोच उनले सुनाइन् ।

‘लम्फु’ गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । लामिछानेले नै उनलाई चलचित्र अफर गरेका थिए ।

अफर आउनेबित्तिकै उनले केही दिनको समय मागिन् । त्यो बीचमा उनले इन्टरनेटमा लामिछानेको विषयमा अध्ययन गरिन् ।

अनि मात्र लम्फु अभिनय स्वीकारेकी हुन् ।

अभिनयको बारेमा उनलाई ‘अ’ पनि थाहा थिएन । त्यसैले अभिनयको सुरुका दिन उनलाई निकै गाह्रो भयो । तैपनि उनी लागिरहिन् ।

उनको कामप्रतिको लागाव देखेर पूरै टिमले हौसला र पे्ररणा दिए । बानी परेपछि भने उनलाई अभिनय सहज हुँदै गयो ।

‘अभिनयमा आउँछु भनेर कहिलै सोचेकी थिइन । तस्बिर भाइरल भएपछि जीवन नै परिवर्तन भयो’, उनले थपिन्, ‘म निक्कै भाग्यमानी रहेछु ।’ चलचित्रमा आफ्नो भूमिका सोझी सोझी केटीको रहेको उनले सुनाइन् ।

आमाबाबुकी एक्लो छोरी भए पनि उनी सुखमा हुर्किएकी भने होइनन् । सामान्य परिवारमा जन्मिएकी उनले घरको चुलोचौकादेखि खेतबारीको कामसमेत गर्नुपथ्र्यो ।

कहिले कहिले उनी आफ्नै तरकारी बजारसम्म पनि पुर्याउँथिइन् । यो सिलसिला केही वर्षदेखि चल्दै आएको थियो । तर एक दिनको तरकारी ब्यापार यात्राले भने उनको जीवन नै परिवर्तन गरिदियो ।

‘त्यो दिन पनि सदाझैँ बजार गएकी थिएँ । तस्बिर खिचिएको पनि थाहा थिएन’, उनी विगतमा पुगिन् ‘तस्बिर भाइरल भएपछि मात्र थाहा पाएँ । सुरुमा निकै डर लाग्यो ।’

डरैडरमा यो समाचार आमाबुबालाई सुनाएकी उनले छरछिमेकले पोजेटिभ रूपमा बधाइ र शुभ–कामना वर्षाउन थालेपछि भने चयनको सास लिएकी थिइन् ।

लजालु स्वभावकी उनी गाउँका सबैमध्ये सोझी केटी हुन् । साथीभाइसँग सजिलैसँग घुलमिल हुन सक्ने बानीले उनी स्कुलमा मात्र होइन गाउँमा पनि सबैको प्रिय छिन् । झुटो नबोल्ने बानी उनको अर्को राम्रो बानी पनि हो ।

अहिलेका युवास्टार प्रदीप खड्का, अनमोल केसी र पल शाहसमेत मनपर्ने हिरो बताउने उनको मनपर्ने हिरोइन् आँचल शर्मा हुन् रु

अनमोल र प्रदीपसँग चलचित्र रोमान्स गर्ने इच्छा रहेको बताउने उनी नृत्यमा सानैदेखि माहिर छिन् ।

गाउँघरको पूजादेखि विवाह, वर्तमानसँग उनी नृत्य गर्न छुटाउदिन थिइन् । तर ती नृत्य चलचित्रका लागि केही मात्र काम लाग्ने अहिले उनले राम्ररी बुझिसकेकी छन् ।

त्यसैले अबको चलचित्रमा नृत्य र अभिनयको प्रशिक्षणसहित देखिने विचार रहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्