Logo

नयाँ वर्षको उदय


कलाखवर सम्वाददाता, बैसाख १ – संक्रमणकालको लामो कालखण्डलाई विश्राम दिँदै नयाँ युगमा नेपाल प्रवेश गरेको छ। २०७४ सालभित्रका कैयन सफलता र असफलताका सिंढीहरु चढ्दै नयाँ वर्षको यो धरातल तयार भएको हो। सफलताका लागि असफलता प्रेरणा नै हो। किनकि असफलताको जगमा नै सफलताको सूची तय हुन्छ। शुभोदय हुन साँझ अनि रात अनिवार्य छ। जति गाढा वा गहिरो रात हुन्छ बिहानीको तेज त्यसैअनुसार अद्‍भुतपूर्ण हुनसक्छ। हाम्रो अपेक्षा त्यही हो।

चुनाव अघिदेखि नै प्रधानमन्त्रीमा ‘प्रोजेक्ट्डु’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अपेक्षाहरुको भारी छ नयाँ वर्षमा । भर्खरै सम्पन्न भारत भ्रमणमा ओलीको उपस्थिति र प्रभाव बलियो देखिएको छ। स्थिर राजनीतिको सम्भावना देखेपछि क्षेत्रीय राजनीतिमा हालिमुहाली चलाउनेहरु पनि केही दच्केको अनुभव यसपटकको भ्रमणले दिएको महत्त्वपूर्ण संदेश हो। स्थिरताका लागि मतदान गर्ने जनता यसका आधार हुन्। ओलीका प्रतिवद्धतामा जनताको सबैभन्दा ठूलो अपेक्षा छ। स्थिरताको निरन्तरता र विकासमाथिका प्रतिवद्धताको समुचित फलोअपुले मात्र उद्देश्य हासिल हुनसक्छ। बहुमतको भारीलाई जिम्मेबारीका रुपमा लिनेमात्रै हो भने पनि शुभोदयलाई कुनै पनि रुपका बादलले छेक्न सक्दैन।

चर्का राजनीतिक उतार(चढाव, संकटका घडी, अभाव र समस्याका जालोकै बीच पनि २०७४ सालले हामीलाई सम्भावनाको बाटो देखाएको छ। राजनीतिक रुपमा मुलुकले स्थिरता पाउँदैछ। राजनीतिका लागि राजनीति होइन समुन्नतिका लागि राजनीति गर्ने बाटो खुला भएको छ। समृद्धिका लागि सम्भावनाको ढोका पनि प्रस्ट रुपमा खुलेको छ। विसंगति र विकृतिलाई विश्राम दिनसक्ने गरी जनताले नेतृत्व सुम्पेका छन्।

विगतलाई देखाउँदै पन्छिने या दोष अरुतिर थोपार्दै आफूलाई सुघ्घरी देखाउने अबसर कसैसामु पनि छैन। यतिखेर ठोस कामको खाँचो छ, कुराको होइन। चर्का कुरा र आलोचना त जसले पनि गर्न सक्छन्। किनकि आलोचना सबैभन्दा सजिलो विषय हो। जसले कहिल्यै ठोस काम गर्दैन उसले सबैका खोट औल्याउँछ। त्यसैले प्रधानमन्त्री ओली नेतृत्वको दायित्व विगत कोट्याउँदै आलोचनामात्र गर्ने होइन ती तीता तथ्यलाई स्वीकार्दै नव निर्माणमा जुट्ने पनि हो। आर्थिक समृद्धिका नारा जति सहजै लगाउन सकिन्छ, त्यसलाई धरातलमा उतार्न केही अप्रिय र नमिठा निर्णयहरु पनि लिनुपर्ने हुनसक्छ। राजनीतिक नेतृत्वले यस्ता निर्णयमा खुट्टा नकमाउने हो भने परिवर्तनका लागि लामो कालखण्ड कुर्नु पर्दैन।

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली नेतृत्वले २०७४ सालसम्म उल्लेखनीय उपलब्धी हासिल गरेन। वाम गठबन्धनसहितको जित हासिल गरे पनि सत्तामा ओलीको यात्रा भर्खरैमात्र सुरु भएकाले धेरै अपेक्षा गरिहाल्न पनि ठीक हुन्न। ओली सरकारले बनाउँदै गरेको टीम र मन्त्रिपरिषदमाथि तत्कालै नकारात्मक टिप्पणी गरिहाल्नुपर्ने स्थिति छैन। अहिलेलाई भएकामध्ये राम्रा नै छानिएका छन्। आशा गर्नसक्ने ठाउँ पर्याप्त छ। सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटबाट जन अपेक्षामाथि सम्बोधन गर्ने अपेक्षा गर्न सकिन्छ। त्यसका लागि जनता धर्य भएर प्रतीक्षा गरिरहेका छन्।

लोकतन्त्रको यो अभ्यासमा प्रतिपक्षको भूमिका पनि कम छैन। पराजित मानसिकताबाट ग्रसित भएर बस्नुभन्दा सक्रिय प्रतिपक्षको भूमिका नेपाली कांग्रेसबाट अपेक्षा गर्न सकियोस्। प्रतिपक्ष बलियो भयो र सरकारका क्रियाकलापमाथि निगरानी राख्न सक्यो भने समृद्धिको यात्रामा सहकार्य नै ठहर्छ। सरकारको मनोमानी रोक्न पनि बलियो प्रतिपक्ष आवश्यक छ। त्यसैले नेपाली कांग्रेसले आफूलाई बलियो प्रतिपक्षी सावित गरोस्। सत्तारुढ दलहरु र प्रतिपक्षीहरुको सक्रिय भूमिकाले नै शुभोदयको अपेक्षा गर्न सकिन्छ। सबैलाई नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना।

प्रतिक्रिया दिनुहोस्