Logo

बिस्केट जात्रामा हजारौंको भीड



कलाखवर सम्वाददाता, बैसाख १ भक्तपुर – नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्व बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौंको घुइँचो लागेको छ ।

५५ हात लामो इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रुनास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ ।

चरखण्डीमा रातिदेखि नै भीड

आजै भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रसिद्व चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाले शरीरमा बत्ति बालेर बसेका छन् । शरीरमा बत्ति बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा रथ यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्