Logo

नेपाली टेलिभिजनमा ‘को बन्छ करोडपति’,राजेश हमाल होस्ट


कलाखवर संवादाता,फागुन ४ –भारतीय टेलिभिजन च्यानल ‘सोनी’ को लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपाली टेलिभिजन च्यानलमा पनि हेर्न पाइने भएको छ ।

‘नेपाल आइडल’ पहिलो संस्करणसँगै चर्चामा आएको एपीवान टेलिभिजनले एसआरबीएन मिडियाको सहप्रायोजनमा ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । जुन कार्यक्रमलाई नेपाली सुपरस्टार राजेश हमालले सञ्चालन गर्नेछन् ।

एसआरबीएन मिडियाका विपीनकुमार आचार्यका अनुसार नेपालमा पनि विश्वमा चलेको ढाँचामै उक्त कार्यक्रम सञ्चालन हुनेछ । यो कार्यक्रम दर्ता खुला भएपछि ‘आईभीआर’ तथा ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन् । तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका १० जना कार्यक्रममा सहभागी भएर ‘को बन्छ करोडपति’ को ‘हट सिट’ का लागि प्रतिस्पर्धा गर्नेछन् । तीमध्ये पनि छिटो उत्तर मिलाउने एकजना हट सिटमा पुग्नेछन् ।

कार्यक्रममा ‘कौन बनेगा करोडपति’ कै जस्तो लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन–अ–फ्रेन्ड हुनेछन् । यसअघि नेपाल टेलिभिजनमा ‘नगद पाँच लाख’ भन्ने कार्यक्रम सञ्चालनमा आएको थियो । ललितपुरको मानभवनमा स्टुडियो सञ्चालन गरी लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । तर, त्यो कार्यक्रम केही भाग सञ्चालन गरेर बन्द भएको थियो । सो कार्यक्रममा भाग लिने प्रतियोगीले पुरस्कार पनि जितेका थिए ।

तर, यसपटक बेलायतको चर्चित सो ‘हु वान्टस् टु बी अ मिलिनिअर’ को आधिकारिक लाइसेन्स प्राप्त ‘केबीसी’ एपीवान टेलिभिजनले प्रसारण गर्न लागेको हो । कार्यक्रमका प्रस्तोता राजेश हमाल अहिले कान्तिपुर टेलिभिजनमा ‘कान्तिपुर क्विज’ चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्