Logo

ग्याल्पो ल्होसारको वृहत सांस्कृतिक कार्यक्रम तथा गुथुक साँझ आजबाट राजधानीमा शुरु


छिरिङ्ग शेर्पा, फाल्गुन २ गते काठमाडौँ । स फो खी ल्हो २१४५ औँ ग्याल्पो ल्होसारको पुर्व सन्ध्यामा दुई दिने वृहत सांस्कृतिक कार्यक्रम तथा गुथुक साँझ आजबाट राजधानीमा शुरु भएको छ। हिमालयन शेर्पा सांस्कृतिक केन्द्र काठमाडौँले उक्त कार्यक्रम टूडिखेलमा गर्ने पुर्व तयारी गरेको भए पनि अन्तिम चरणमा आएर ज्योति पार्टी प्यालेसमा, कुमारीगालमा टुशालमा गरेको हो।

हिमालयन शेर्पा संस्कृतिक केन्द्र काठमाडौँका अध्यक्ष छिरिङ्ग शेर्पाको सभापतित्वमा भएको उक्त कार्यक्रममा शेर्पा समुदायका लामा गुरु , विभिन्न संघ संस्थाका प्रतिनिधि , कलाकार तथा समाजसेवीहरुको बाक्लो उपस्थीति रहेको थियो। यस कार्यक्रमलाई आयोजक संस्थाका महासचिव सेर्कु शेर्पा र सचिव तथा मिस शेर्पा २०१७ उपाधि विजेता सोनाम डोल्मा शेर्पाले संचालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै हिमालयन शेर्पा संस्कृतिक केन्द्रकी वरिष्ठ   उपाध्यक्ष आङ्ग डोमा शेर्पाले संस्थाको बारेमा प्रकाश पार्दै कार्यक्रम आयोजनाको लागि संस्थाले झेल्नु परेको समस्याहरु पनि प्रस्तुत गरेकी थिईन । संस्थाका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले भने आफैमा आत्मनिर्भर बन्नको लागि भगवान बुद्धको वचनको अनुशरण गर्नुपर्ने बताए । संस्कृतिको संरक्षण र प्रवर्द्धन मुख्य उद्देश्य भएकोले स्थान बिशेषले कार्यक्रममा खासै फरक नपर्ने उनको भनाई थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा शेर्पा स्याब्रु नृत्य, शेर्पा संस्कृति झल्कने झाँकी प्रदर्शन तथा साम्दे शेर्पा स्मृति वक्तृत्व कला प्रतियोगितामा समेत आयोजना गरिएको थियो। सो वक्तृत्व कला प्रतियोगितामा प्रतियोगी ल्हमू शेर्पाले प्रथम स्थान हासिल गरेकी थिईन ।

कार्यक्रममा देशका विभिन्न स्थानमा छरिएर रहेका शेर्पाहरु एकै साथ भेला भई ल्होसारको बिशेष परिकार गुथुक खाँदै सांगीतिक माहोलमा रमाएका थिए। यस पटकको ग्याल्पो ल्होसारको भने यहि ४ गते फाल्गुन शुल्क प्रतिपदाको दिन पर्दछ ।

भाषा, कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा सक्रिय समुदायको अगुवा संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले संस्कृतिको संरक्षण एवं प्रवर्द्धन कै लागि बार्षिक रुपमा शेर्पा भाषा , स्याब्रु नृत्य कक्षाका साथै ल्होसारको पर्वको अवसर पारेर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्