Logo

नाचसहित बडघरमा टीका थाप्दै कञ्चनपुरका थारु समुदाय 


कञ्चनपुर, १४ असोज राजकुमार राई । कञ्चनपुरका थारु समुदाय बडादशैँको टीका थाप्नका लागि नाचसहित बडघरमा जम्मा भएका छन् ।

गाउँको विकाससँग रीतिथिति राख्ने सबैको सहमतिमा चुनिएका व्यक्तिलाई थारु समुदायले बडघर भन्ने गरेका छन् ।

पालो पर्खंदै पहुरा लिएर थारु समुदायका बालबालिका, बूढापाका, महिला र तन्नेरी टीका थाप्नका लागि बडघरमा लामबद्ध भएका छन् । थारु समुदायमा बडा दशैँको टीका बडघरमा गएर थाप्ने परम्परागत चलन छ ।

टीका थाप्न गाउँगाउँबाट सखिया, लठुवा र छोक्रा नाचसँगै पहुराका रुपमा मदिरा, जमरा, बेवरी र टीकासहित बडघरमा जाने चलन रहेको स्थानीय परदेशी चौधरीले बताउनुभयो ।

गाउँका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघरबाट पहिलो टीका थापेर आर्शीवाद लिनुपर्ने परम्परागत चलन रहेको उहाँले बताउनुभयो । बडघरपछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिकरुपमै थारु समुदायले टीका थाप्ने गर्छन् ।

टीका थाप्नेहरुका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछामासु र तरकारी खुवाउने व्यवस्था मिलाएको जोनापुरका बडघर रामप्रसाद चौधरीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरु कहाँ नाचसहित पहिलोपटक टीका थाप्न जाँदै गरेको पनि उहाँले बताउनुभयो ।

टीका थाप्नका लागि परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताउनुभयो । आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमंग थपिएको उहाँले बताउनुभयो ।

टीकापछिको दोस्रो दिन घरघरमा गएर अन्तिमपटक सखिया नाच नाचेर दशैँ अन्त्य हुने थारु अगुवाहरुले बताएका छन् । थारु गाउँमा सखिया नाचको रौनकतासँगै उमंग छाएको छ । युवाहरु मादल बजाउनमा र युवती परम्परागत लेहंगा चोल्या र आभूषणमा सजिएर नृत्य गर्नमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्