बालिका बनिन् ‘मिसेस क्विन’

काठमाडौं- १६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाइनर बालिका अधिकारीले चुमेकी छिन्। इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारेर बिहीबार साँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले उपाधिसहित हिरोको स्कुटर र विभिन्न उपहार प्राप्त गरिन्। उनी बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित भइन्।
विवाहिता नारीको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिएको सो प्रतियोगितामा स्यान्डी भण्डारी फस्ट रनर अप भइन्। यस्तै, सेकेन्ड रनरअपको उपाधि निकिता पाण्डेले प्राप्त गरिन्। सो प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल उषा खड्गीले गरेकी थिइन्।
प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि गायिकासमेत रहेकी बबिता मानन्धरले जितिन्। बेस्ट पर्सनालिटीको उपाधि स्यान्डी भण्डारीे र मस्ट ब्युटिफुलको उपाधि करुणा श्रेष्ठले हासिल गरिन्। यस्तै बेस्ट स्किन आस्मा पुन मगर, बेस्ट हेयर बालिका अधिकारी, बेस्ट क्याटवाक अनिता श्रेष्ठ, मस्ट पपुलर सुविना शाक्य, मस्ट फोटोजेनिक सरला थापा र बेस्ट फिगर मोनिका श्रेष्ठ घोषित भए।
प्रतियोगिताका निर्णायकमा गायक आनन्द कार्की, फेसन स्टाइलिस्ट निल डेभिड कटवाल, अभिनेता मणिराज लबट, अभिनेत्री हिसिला महर्जन, फोटोग्राफर राजभाई सुवाल, मेकअप आर्टिस्ट रुस्का बैद्यलगायत थिए।