मजाक बनाइयो अक्षयको नेसनल अवार्ड
२६ वर्षअघि फिल्म ‘सौगन्ध’ मार्फत बलिउड छिरेका अक्षय कुमारका यस वर्ष नै पाँच फिल्म रिलिजमध्ये अझै तीन पाइपलाइनमा छन् । ‘जोली एलएलबी २’ र ‘नाम सबाना’ भने आइसकेका छन् । अघिल्लो वर्ष उनका ‘एयरलिफ्ट’, ‘रुस्तम’ र ‘हाउसफुल ३’ आए । लामो करिअर बिताइसके पनि अक्षय कुमार अझै पनि बक्सअफिसका हिसाबले सुरक्षित नायकमा पर्छन् । उनी अभिनीत फिल्मका निर्माता हम्मेसी घाटामा जाँदैनन् । र, ब्लकबस्टर्स पनि हुँदैनन् ।
अक्षय कुमारले नायकका रूपमा अनगिन्ती फिल्म खेले । उनी ११ पटक फिल्म फेयर अवार्डको मनोनयनमा पनि परे तर जितेका दुई मात्रै अवार्ड पनि नायकका रूपमा पाएका होइनन् । ‘अजनबी’ मा उनले उत्कृष्ट भिलेनका लागि अवार्ड जित्दा ‘गरम मसाला’ मा उत्कृष्ट कमेडियनका रूपमा अवार्ड थापेका थिए । तिनै अक्षयलाई यसपटक उत्कृष्ट नायकका रूपमा नेसनल अवार्ड दिइएको छ । जब कि उक्त अवार्डका लागि ‘दंगल’ बाट आमिर खान, ‘अलिगढ’ बाट मनोज बाजपेयी वा ‘उड्ता पन्जाब’ बाट साहिद कपुरजस्ता गतिला समीक्षा बटुलेका बलिया दाबेदार थिए । अधिकांश विधामा क्षेत्रीय फिल्मकर्मी र फिल्मले वर्चस्व जमाएको ६४ औं संस्करणको नेसनल अवार्डमा अभिनेतामा अक्षय कुमारको अवार्ड भने ठूलै हाँसोको विषय बनिदिएको छ ।
‘क्यानडाका लागि ठूलो दिन रहेछ । उक्त देशका नागरिक अक्षय कुमारले अभिनयमा भारतको नेसनल अवार्ड जितेका छन्,’ एक टीटेले क्यानडाको नागरिकता बोकेका अक्षय कुमारको देशभक्तिलाई कटाक्ष गर्दै टीट गरेका छन् । जब कि अवार्ड निर्णायकले अक्षयलाई देशभक्तिपूर्ण फिल्ममा सशक्त अभिनय गरेका कारण अवार्ड दिइएको अनुमान गरिएका बेला यस्तो व्यंग्य ट्वीटरदेखि अन्य सामाजिक सञ्जालमा छाएको छ । जब कि उत्कृष्ट फिल्मको नेसनल अवार्ड जित्ने मराठी फिल्म ‘कासव’ र हिन्दी फिल्मतर्फ ‘नीरजा’ का विषयमा कसैले टिप्पणी गरेका छैनन् ।
शुक्रबार वितरित अवार्डमा विवाद बढिरहेका बेला शनिबार अवार्ड जुरी प्रमुख प्रियदर्शनले अक्षय कुमारले ‘रुस्तम’ का लागि मात्रै नभई ‘एयरलिफ्ट’ का लागि पनि संयुक्त रूपमा नेसनल अवार्ड जितेको अभिव्यक्ति दिएपछि आगोमा घ्यू थप्ने काम गरेको छ । जब कि अवार्ड एक्टरले कुनै एक फिल्ममा निर्वाह गरेको सशक्त अभिनयका लागि दिइन्छ । कतिपयले भने नायक अक्षय कुमारले प्रियदर्शनसँगको नजिकको सम्बन्धका कारण अवार्ड पाएको पनि टिप्पणी गरेका छन् । हुन पनि प्रियदर्शनसँग अक्षयले ‘हेराफेरि’, ‘गरम मसाला’, ‘भागम भाग’, ‘भुलभुलैया’, ‘दे दना दन’ र ‘खट्टा मीठा’ मा काम गरिसकेका छन् ।
अक्षय कुमारले भने आफ्नो पहिलो नेसनल अवार्ड पत्नी ट्विंकलप्रति समर्पित गर्न चाहेको बताएका छन् । अवार्ड विवादबारेमा भने नायकले केही बोलेका छैनन् ।